राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली खेलाडीहरूको उज्यालो भविष्य खेल क्षेत्रमै सुनिश्चित गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने बताएका छन्।
भारतमा सम्पन्न म्याट्रिक्स फाइटर नाइट टाइटल जितेका नेपाली एमएमए फाइटर रविन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “देशभित्र र बाहिरका प्रतियोगितामा सहभागी हुन तथा तालिम लिन आवश्यक अवसर र सुविधा सुनिश्चित गरियो भने मात्र खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा सफलताको कीर्तिमान कायम गर्न सक्छन्।”
राष्ट्रपति पौडेलले खेलले व्यक्ति मात्र नभई राष्ट्रको पहिचान र गौरव बढाउने माध्यम भएको उल्लेख गरे। उनले समग्र शारीरिक, मानसिक र व्यक्तित्व विकासका लागि खेल क्षेत्रलाई मजबुत बनाउनु आवश्यक रहेको धारणा राखे।
बझाङ जिल्लाबाट आएका ढाँटलाई ‘बझाङको बाघ’ को उपमा दिँदै उनले खेलमा देखाएको समर्पण, अनुशासन र मेहनतले नेपाली खेल क्षेत्रमा गौरव थपेको बताए । साथै, उनले ढाँटका सफलतामा साथ दिने प्रशिक्षक, परिवार र सम्बन्धित निकायहरूलाई पनि धन्यवाद दिए ।
राष्ट्रपतिले सरकार, खेल संग सम्बन्धित संघ,संस्था तथा सरोकारवाला निकायहरूलाई आगामी दिनमा खेल क्षेत्रको समग्र विकासका लागि एकजुट भएर काम गर्न पनि आह्वान गरे।