रवि लामिछानेले रुपन्देही अदालतमा बुझाए पौने तीन करोड बिगो

lalbigul.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफ्नो भागको बिगो बापत बैंक जमानत अदालतमा बुझाएका छन् । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा थुनामा रहेका सभापति लामिछानेले बिगो वापत बैंक जमानत अदालतमा बुझाएका हुन् ।


आफूलाई थुनाबाहिर राख्न माग गर्दै तीन दिन पहिले निवेदन दिएका उनले अदालतमा आफ्नो भागको बिगो वापतको बैंक जमानत पनि पेस गरेका हुन् । सुप्रिम सहकारी ठगीका अभियुक्त लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि पेस गरिसकेको अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए ।

सभापति लामिछानेले निवेदनसँगै आफ्नो भागको बिगो वापतको बैंक जमानत पनि बुझाइसकेको उनको भनाई छ । लामिछानेले निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई यही ऐनको दफा ७१ बमोजिम थुनामुक्त गर्न आदेश माग गरेका छन् ।

६८ मा अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सक्ने व्यवस्था छ । दफा ७१ मा कारबाहीको जुनसुकै अवस्थामा पनि थुनामा वा जमानतमा राख्न सकिने भन्ने व्यवस्था छ ।

दफा ७१ (१) मा भनिएको छ, ‘मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए तापनि अदालतले प्रमाण बुझ्दै जाँदा अभियुक्तलाई अवस्था अनुसार दफा ६७ बमोजिम थुनामा राख्न वा दफा ६८ बमोजिम निजसँग धरौटी, जमानत वा बैंक जमानत माग्न सक्नेछ र सुरुमा पुर्पक्षका लागि अभियुक्तलाई थुनामा नराखेको वा निजसँग धरौटी, जमानत वा बैंक जमानत नलिएको कारणले मात्र पछि निजलाई थुनामा राख्न वा निजसँग धरौटी, जमानत वा बैंक जमानत माग्न अदालतलाई बाधा परेको मानिने छैन ।’

सोही दफाको उपदफा (२) मा ‘६७ वा ६८ बमोजिम थुनामा परेको कुनै अभियुक्त कसुरदार होइन बन्ने प्रमाणित हुन सक्ने कुनै मनासिव आधार प्राप्त हुन आएमा मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए पनि त्यस्तो विषयमा सुनुवाई गरी अदालतले थुनाबाट छोड्ने आदेश दिन सक्नेछ’, भनि उल्लेख छ ।

लामिछानेको यो निवेदन दर्ता भएकै दिन न्यायाधिश डिल्लीराम शर्मा अर्यालको इजलासले विपक्षीलाई जानकारी दिने आदेश गरेको थियो । तर मंगलबार र बुधबार पेसी स्थगित तोकेका थिए ।


न्यायाधीश दीपेन्द्र थापा मगरको इजलासमा बुधबार र मंगलबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा पेसी तोकिएको थियो । यसअघि रविलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिने पनि योगी नै थिए ।

रुपन्देहीको सुप्रिम सहकारी ठगीको अभियोगमा उनीसहितका प्रतिवादीहरुलाई एकमुष्ट १० करोड ९९ लाख रुपैयाँ बिगो कायम गरिएको छ । त्यसमध्ये आफ्नो भागमा पर्ने सम्पुर्ण बिगो बराबरको रुकम बैंक जमानत राखेर आफूलाई रिहा गर्न उनले माग गरेका छन् ।

प्रतिक्रिया